चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ। लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ६७२७ नम्बरको टिपरले आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।