काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले राजीनामा दिएका छन् ।
शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन् । जारी लिग खेलाइरहेका सात रेफ्रीले एन्फा अध्यक्ष कर्मा समक्ष राजीनामा पत्र बुझाएका हुन् । यसअघि नाै रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका थिए ।
यसअघि एन्फाले गत डिसेम्बरमा नै १० पुरुष र दुई महिला गरी १२ रेफ्रीको फिटनेश टेष्ट गरि फिफा ब्याज नविकरण गरेको थियो ।
तर, लिग दौरान एन्फा अध्यक्षसहित एन्फा रेफ्री डाईरेक्टर गौतम कौरले पुनः टेष्ट मागेपछि आफुहरूले राजीनामा दिएको एक रेफ्रीले न्युज कारखानालाई बताए ।
‘हाम्रो डिसेम्बरमा मात्र टेष्ट भएको हो । अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर, हामीले समय पनि मागेका छौं । अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा राजनीति गर्ने भनेर हामीविरुद्ध नै लाग्नुभयो । त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं’, ती रेफ्रीले भने ।
राजीनामा बुझाएका सात रेफ्रीले सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरू हुँदै गर्दा सो खेलहरु समेत नखेलाउने निर्णय लिएका छन् । उनीहरूले एन्फाको त्यो निर्णय आफूहरूलाई मान्य नहुने र लिगका खेल बहिस्कार गर्नेसमेत बताएका छन् ।
यस पटक एन्फाले लिगका लागि १० फिफा रेफ्रीसहित २० रेफ्रीलाई लिगको खेलाउने जिम्मेवारी दिएको छ ।
राजीनामा पत्र बुझाउने रेफ्रीहरू
प्रकाश नाथ श्रेष्ठ
नविन्द्र मर्हजन
प्रज्वल क्षेत्री
नानीराम थापा मगर
सहदेव श्रेष्ठ
युनाल मल्ल
किशन कन्हैया यादव