सिन्धुली। कमलामाई नगरपालिकी १४ वर्षीया किशोरीले तीन वर्ष अगाडि प्रेम विवाह गरिन् । बिहे गरेको दुई वर्षसम्म दाम्पत्य सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो सम्बन्ध थियो । बिवाहको दुई वर्षपछि छोरी जन्मिइन् । दुबै खुसी नै थिए ।
तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । बिवाहको तीन वर्षपछि खटपट सुरु भयाे र विस्तारै उनीमाथि शारिरीक एवं मानसिक हिंसा हुन थाल्यो ।
घरमा खानासम्म पनि नदिने र श्रीमानबाट हुने गरेकाे कुटपिट सहन नसकेपछि उनी माइतीमै बस्न थालिन् । ‘सुरुमा श्रीमानले कुट्दा सुध्रेलान् भन्ने भयाे ।माइतीमा के जानु भन्ने पनि भयाे,’ उनी भन्छिन्, “दैनिक रक्सी खाएर कुटपिट गर्न लागेपछि माइतीको सहारा लिनुपर्यो । दुई वर्षदेखि छोरीलाई सँगै लिएर माइतीमै बसिरहेको छु ।’
सुनकोसी गाउँपालिकाकी अर्की एक महिला श्रीमानकाे कुटाइ र यातना सहन नसकेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुगिन् । श्रीमानले मादक पदार्थ सेवन गरेर दैनिक पिट्ने, घरमा बस्नै नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
प्रहरीले बारम्बार छलफल गराउँदासमेत परिवारले ती महिलालाई स्वीकार नगरेपछि एक महिनासम्म सुरक्षित आवास गृहमा राखिएको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ्ले बताइन् । पटकपटकको छलफल पछि अन्तिममा मिलापत्र भयो ।
दूधौली नगरपालिकाकी अर्की एक किशाेरीले १७ वर्षको उमेरमा राजीखुसी बिवाह गरिन् । सामाजिक सञ्जालबाट चिनजान भएका पुरुषसँग दुई वर्षको प्रेम सम्बन्धपछि उनले बिवाह गरिन् । बिवाह पछि दम्पत्ति काठमाडौँमा बस्याे ।
किशोरी गर्भवती भइन् । सात महिनाको गर्भ हुँदा घरखर्च पठाउने सर्तमा उनको श्रीमान विदेश गए । नौ महिना पछि छोरी जन्मिइन् । विदेश गएका श्रीमानले केही सयम पैसा पनि पठाए । पछि श्रीमानले फोन नै उठाउन छाडे, पैसा त परैकाे कुरा ।
श्रीमान सम्पर्कविहीन भएपछि उनी खोजी गर्न थालिन । बुझ्दै जाँदा ती पुरुष पहिले नै बिवाहित रहेकाे र घरमा श्रीमती रहेकाे खुल्याे । उनी भन्छिन्, ‘मलाई उता घरमा कहिले पनि लैजानु भएको थिएन । घरमा त श्रीमती पाे रहेछिन् ।’
उनी श्रीमानको घर गइन् । त्यहाँ उनलाई जेठी श्रीमती र घरपरिवारले बस्न दिएनन् । त्यसपछि उनी माइती पुगिन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीको तथ्यांक अनुसार चार महिनामा घरेलु हिंसाका ४१ उजुरी परेका छन् । बहुबिवाह, मानसिक यातना, कुटपिटजस्ता विषयका उजुरी आउने गरेको प्रहरी हवल्दार तामाङले बताइन् ।