चितवन । सरकारले इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको १४ दिन पूरा भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले पहिलो इ–पासपोर्ट पाएका थिए। इ पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेबाट पूर्णरुपमा वितरण थालिने भनिएको थियो, तर हालसम्म यसको प्रक्रिया अघि बढेको छैन ।
जिल्ला प्रशासन कार्यालय चितवनमा इ–पासपोर्ट वितरण गर्न कुनै तयारी भएको छैन । राहदानी विभागबाट कुनै जानकारी आइसकेको छैन । मंसिर १५ गतेबाट सर्वसाधारणको लागि इ–पासपोर्ट जारी गर्ने भनिए पनि चितवन प्रशासनमा न यसको कुनै तयारी भइरहेको छ न त राहदानी विभागबाट यसबारे कुनै जानकारी नै आएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार चितवनबाट इ–पासपोर्ट वितरणको तयारी हालसम्म भएको छैन । उनले भने, ‘राहदानी विभागबाट हालसम्म जानकारी आएको छैन, मंसिर अन्तिमबाट चितवनबाटै इ–पासपोर्टको गृहकार्य अगाडि बढाउने कुरा भएको छ ।’ उनका अनुसार चितवनमा कहिलेबाट इ–पोसपोर्ट वितरण गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको छ । उनले भने, ‘राहदानी विभागबाट थप जानकारी केही नआएको हुनाले चितवनबाट इ–पासपोर्टको विषयमा केही भन्न सक्दैनौँ । तर मंसिर अन्तिमबाट गृहकार्य अगाडि बढाउन छलफल भइरहेको छ ।’
नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।
विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।
सरकारले तीन पटक टेन्डर आह्वानपछि दुई वर्ष अघि फ्रेन्च कम्पनी आईडिमियासँग नयाँ एनआरपी छाप्न सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ । नेपालले एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाख एमआरपी छापेको थियो ।