चितवन। एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् ।
ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन् ।
ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन् । मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् ।
यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् । उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् ।
यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् । यस्तै, १०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन्।
निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् । उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् ।