लमजुङ। लमजुङमा १२ पुसबाट त्रिवेणी कप-२०७८ फुटबल प्रतियोगिता हुने भएको छ । कपको विजेतालाई नगद पाँच लाख, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीयले रजत पदकसहित नगद ३ लाख पाउनेछ भने उपबिजेता दुई समूहले नगद ५०/५० हजार पाउने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा ३३ लाख ६० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता बेसीशहरमा रहेको सहजी खेल मैदान त्रिवेणी रंगशालामा हुने भएको हो ।
जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लवका अध्यक्ष गुरुङले बताए । गत वर्ष कोरोनाका कारण स्थगित भए पनि यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको क्लबका अध्यक्ष गुरुङले बताए ।