काठमाडौं। सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटोले छिमेकी थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो ।
सातदोबाटोको जितमा सुदीप गुरुङले निर्णायक गोल गरे । ३०औं मिनेटमा अजयी मार्टिनको ‘कटब्याक‘ पासमा सुदीप गुरुङले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहारमा थ्री स्टारका गोलकिपर गुइलाउमे प्रिसो मूकदर्शक बनेका थिए । गत बर्ष पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोको यो पहिलो जित हो । अघिल्लो खेलमा सातदोबाटो फ्रेन्डससँग बराबरीमा रोकिएको थियो । खेलसँगै प्रशिक्षक मेघराजले आफ्नो पूर्वक्लबबिरुद्ध जित निकाल्न सफल भए ।
थ्री स्टारको भने यो पहिलो हार हो । लिगको पहिलो खेलमा थ्री स्टार च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित भएको थियो । बाँकी समय दुबै टोलीले गोलको केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा एक शून्यले अग्रता लिएको सातदोबाटो दोस्रो हाफमा झनै आक्रमक बनेको थियो । गोलको तीनवटा राम्रो अवसर सिर्जना गरे पनि सातदोबाटोका फरवार्डले गोलमा परिणत गर्न सकेनन् ।
७२औं मिनेटमा मार्टिनले पेनाल्टी बक्सभित्रबाट हानेको प्रहार थ्री स्टारको गोलकिपर प्रिसोले बचाइदिएका थिए । त्यसअघि निरज चौधरीले प्रहारलाई पनि प्रिसोले बचाइदिएका थिए । ८२औं मिनेटमा थ्री स्टारका विक्रम लामाले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार थोरैले आकाशिएको थियो । विक्रमले निशान खड्काको कर्नर प्रहारमा हेडिङ गरेका थिए ।
जितसँगै दुई खेलबाट ४ अंक बनाएको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ । आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् ।