चितवन। चितवनकै ठुलो मानिएको चितवन मेडिकल कलेज अस्पतालले जिल्लामा अक्सिजनको अभाव हुन थालेपछि अक्सिजन चाहिने कोरोना संक्रमितलाई भर्ना नलिने बताएको छ। अस्पतालका प्रमुख प्राडा हरिशचन्द्र न्यौपानेले शनिबार सामाजिक सञ्जालमार्फत अस्पतालले बिरामी लिन नसक्ने अवस्थामा पुगेको जानकारी गराएका हुन्।
देशैभर कोभिडका बिरामीको चाप बढिरहँदा ५०० लिटर प्रतिमिनेटको अक्सिजन प्लान्ट रहेको अस्पतालले पनि बाहिरबाट ४०० वटा सिलिन्डर ल्याएर उपचार गराउँदै आए पनि हाल सरकारी निकायलाई मात्रै अक्सिजनका सिलिन्डर वितरण गरिरहेको गुनासो गर्दै आफूहरुलाई पनि अक्सिजनको सप्लाई नगरिदिए आगामी दिनमा गम्भीर खालका कोभिड संक्रमितको उपचार गर्न नसक्ने उनले बताए।
हेर्नुहोस्, डा न्यौपानेको फेसबुक स्टाटसः
नेपाल भरि नै कोभिडका सिकिस्त बिरामीको चाप बढेकोले कैंयौं बिरामीहरु विशेष गरि डोटी, धनगढी, नेपालगन्ज, भैरहवा, बुटवल, सुर्खेत, गुल्मी, काठमाडौँ साथै अन्य जिल्लाबाट पनि आइसियूको लागि चितवनमा आइरहनुभएको र चितवनकै पनि करिब ५० % बिरामीहरु यस अस्पतालको आइसियू र एचडियूमा भर्ना भएर उपचार लिइरहनु भएको छ। अहिले मात्रै चितवन मेडिकल कलेजको आइसियूमा १४६, भेन्टिलेटरमा ३२, एचडियूमा १८, आइसोलेसन आइसियूमा १६, आइसोलेसन एचडियूमा १० र कोभिड क्याविनमा १९ गरी २०९ जना बिरामीले अक्सिजनसहितको उपचार पाइरहुभएको छ।
त्यस्तै गरि ननकोभिड आइसियूमा १२ जना साथै भेन्टिलटरमा ४ जना बिरामीले उपचार पाइरहनुभएको छ। हाम्रो आफ्नै करिब ५०० लिटर प्रतिमिनटको अक्सिजन प्लान्ट रहेको र हालसम्म करिब ४०० वटा अक्सिजन सिलिन्डर बाहिरबाट ल्याइरहेको अवस्था थियो। हाल चितवनका विभिन्न अस्पताललाई अक्सिजनको संकट नआओस् भन्ने हेतुले सरकारी निकायद्वारा सिलिन्डर वितरण भइरहेको र केही मात्रामा सिलिन्डर साथै अक्सिजन अपुग हुन जाने मौखिक जानकारी पाइएको छ।
जति धेरै सिकिस्त बिरामीहरु भयो त्यति नै धेरै अक्सिजन खपत हुने कुरालाई मनन गरेर सिलिन्डर वितरण गर्नुहुनेछ भन्ने कुरामा पनि हामिले विश्वास लिएका छौं। यदि अक्सिजन सप्लाई कम हुने हो भने अब उप्रान्त हामी अक्सिजन चाहिने कुनै पनि बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा सर्वसाधारणलाई साह्रै दुःखका साथ जानकारी गराउन चाहन्छौं।