चितवन। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवन झरेसँगै सर्वसम्मत नेतृत्वसहित पदाधिकारी चयनका लागि छलफल थालेका छन् । सौराहाको रोयल सफारिमा बसेका अध्यक्ष ओलीले आफू निकट र पदाधिकारीका आकाँक्षीहरुसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । पदाधिकारीमा आकांक्षीहरु धेरै भएको तर सीमितलाई समेट्नुपर्ने भएपछि अध्यक्ष ओली दबाबमा छन् ।
त्यसमाथि ओलीलाई पूर्वमाओवादी, आफू साथ दिँदै आएका नेता र दश बुँदे पक्षधरलाई समेत सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बाध्यता छ । एकताको महाधिवेशनका रूपमा लिइएको एमालेको दसौँ महाधिवेशनमा निर्वाचन जोडबल थोरै र सहमतिको प्रयास अधिकतम भएको नेताहरु नै बताउँछन् । त्यसैका लागि काठमाडौँदेखि नै निरन्तर सहमतिको प्रयास हुने भनिएकै कारण एकाधबाहेक पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी समेत घोषणा गरेका छैनन् ।
अहिलेसम्म अध्यक्षमा उपाध्यक्ष भीम रावल, वरिष्ठ उपाध्यक्षहरूमा सुवासचन्द्र नेम्वाङ र घनश्याम भुसाल, उपाध्यक्षमा देवराज घिमिरे, सचिवमा गोकुल बाँस्कोटा र महेश बस्नेतले उम्मेदवारी दिने घोषणा गरे पनि अन्य नेताहरू मौनजस्तै बसेका छन् । उनीहरूले भित्री रूपमा आफ्नो पद सुरक्षित गर्न लबिङ गर्दै सोही अनुसार रणनीतिसमेत बनाइरहेको बुझिएको छ ।
एमालेमा शक्तिशाली मानिने महासचिव पदमै पनि अहिलेसम्म कसैले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर सो पदमा आकाङ्क्षी भने मुख्यरुपमा तीन नेता देखिएका छन् । जसमा विष्णु पौडेल, शङ्कर पोखरेल र सुरेन्द्र पद आर्जन गर्न त्रिपक्षीय दौडमा छन् ।
एमाले नेता सुरेन्द्र पाण्डेले आफू स्वाभाविक रूपमा महासचिवको दाबेदार रहेको बताए । उनले रातोपाटीसँग भने, ‘नवौं महाधिवेशनमै महासचिवमा जम्मा ६ मतले हारेको हो, त्यो भन्दा तल जाने कुरा भएन ।’ सहमतिबाटै नेतृत्व र पदाधिकारी छान्ने प्रयास भइरहेको बताउँदै नेताहरूको योगयता, क्षमता र योगदान अनुसार भूमिका पाउने उनले विश्वास व्यक्त गरे ।
‘सहमति गर्नु अलोकतान्त्रिक हो, त्यसले नेतृत्व निर्माण गर्दा बिग्रन्छ, चुनाव लड्दा मात्रै सही हुन्छ भन्नु उचित होइन’, उनले भने, ‘पार्टीभित्र सकभर हामी सहमतिको प्रयास गर्छौँ । त्यो लोकतान्त्रिक नै हो ।’
दोहोरा नीतिमा ओली
निरन्तर पार्टीका बैठक र सार्वजनिक कार्यक्रममा समेत सहमति र एकताको महाधिवेशन हुने बताउँदै आएका अध्यक्ष ओलीले अन्तिम समयसम्म पनि वार्ता, संवाद र छलफललाई निरन्तरता दिने नीति अख्तियार गरेका छन् । त्यसका लागि उनले वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका नेताहरूसँग सौराहामा औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका थिए ।
सो छलफलमा सहमतिमै जोड दिएपनि सहमतिको विन्दु पहिल्याउन नसकेको नेम्वाङले रातोपाटीलाई बताए । उनले भने, ‘अध्यक्षसँग हाम्रो कुराकानी भइरहेको छ । तर कुनै निष्कर्ष निस्किसकेको छैन ।’
उनले आफू लागायता नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि पहलसमेत गरिरहेको दाबी गरे । ‘उहाँ पनि पोजेटिभ हुनुहुन्छ तर कसरी त ? भरे केही गरी सर्वसम्मत भएन भने फेरी कुरा त उही हो’, नेम्वाङको भनाइ छ । अर्का नेता अग्नि खरेलले पनि सहमति र एकताको महाधिवेशन भनिएकाले सोही अनुसार पहल भइरहेको बताए ।
‘सहमति नै गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । एकताको महाधिवेशन शब्दमा लेखेरमात्रै त हुँदैन, यसले दिने सन्देश हो ? नेताहरूबीच कोसिस भइरहेको पनि होला’, खरेलको भनाइ छ । नेताहरूले भनेजस्तै अध्यक्ष ओलीले अन्तिम समयसम्म पनि सहमतिमै जोड दिनेछन् । तर निर्वाचनको कार्यतालिका समयसम्म पनि त्यो अवस्था नदेखिए निर्वाचन नै गराएर पदाधिकारी छान्ने निष्कर्षमा ओली पुगेको उनी निकटस्थहरू बताउँछन् ।
‘अध्यक्ष सकभर सहमतिमै नेतृत्व छानियोस् भन्नेमै हुनुहुन्छ । तर सहमति नभए विकल्प त प्रतिस्पर्धा नै हो । त्यसैले सबैतर्फको तयारीमा लागेको व्यवहारले नै देखिन्छ’, ओली निकट ती नेताले भने । उसो त एमालेको निर्वाचनका लागि निर्वाचन कमिटीले आफ्नो कामअघि बढाइरहेको छ । त्यसका लागि एक सय वटा विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन गराउने तयारी भएको छ ।
नारायणी किनारामा आज शुक्रवार उद्घाटन भएर शनिवार बिहान ८ बजेबाट सौराहाको सेभेनस्टार होटेल परिसरमा बन्द सत्र सकेर त्यही निर्वाचन प्रक्रिया सुरु हुनेछ । एमाले नेताहरूका अनुसार १२ गते बेलुकासम्म मतदान सकेर सोही दिन नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । एमाले महाधिवेशनका लागि २ हजार १ सय ७५ जना प्रतिनिधि चयन भएका छन् ।