चितवन । नेकपा एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आजै चितवन आउने भएका छन् । ओलीलगायत स्थायी कमिटीका सम्पूर्ण नेताहरू आज चितवन आउने कार्यक्रम तय भएको महाधिवेशन प्रचार सहयोग समितिले जनाएको छ । समितिका अनुसार ओली आज साँझसम्ममा चितवन आइपुग्नेछन् ।
महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक पनि आजै आउने भएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआईजी र दुई जना डीआईजी चितवन आउन लागेका हुन् ।
एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनीको आज साँझसम्म चितवन आइपुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । महाधिवेशन सुरक्षाका लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १४ सय ५५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन् ।