चितवन। जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेशनको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेशन तयार गर्न सफल भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले कोभिड–१९ को दोस्रो प्रकोप रोकथाम तथा सङ्क्रमितको उपचारका लागि आइसोलेशन तयार गरेको हो ।
आवश्यकअनुसार आइसोलेशन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ । कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । कोभिड–१९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधि, स्वास्थ्य मापदण्डको पालना, बिरामीको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेशन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेशन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेशन निर्माण गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेशन सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १४ का अध्यक्ष ओमप्रकाश पोखरेललगायतले बोल्नुभएको थियो ।
कोभिड आइसोलेशनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा कोभिडका सङ्क्रमितले निःशुल्क पाउनेछन् । अस्पतालमा दुई मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववतरूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ । रासस