चितवन । नेपाली कांग्रेसको चितवनमा भएको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी र बागमती प्रदेश सांसद गीता वाग्ले पराजित भएका छन् । नेपाली कांग्रेसका चितवनका शीर्ष नेता पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
चितवन क्षेत्र नं १ बाट अधिकारीले खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी बनेका अधिकारी निर्वाचित भएका १० जनाभित्र पर्न सकेनन् । अधिकारीले २७२ मत मात्र प्राप्त गरेका थिए । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका सबैभन्दा कम मत ल्याउनेले ३४४ मत ल्याएका थिए । चितवन क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधि बन्नको लागि ३६ जनाले उम्मेदवारी दिएका थिए । अधिकारी पहिलो संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित संविधान सभा सदस्य हुन् ।
यस्तै वागमती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । चितवन क्षेत्र नं २ बाट वाग्लेले २६८ मत ल्याइन्। उनी आठौं स्थानमा परेकी थिइन् । उनले महिलातर्फबाट उम्मेदवारी दिएकी थिए । धेरै मत ल्याउने चार जना मिनाकुमारी खरेल, विनु रायमाझी पौडेल, गीता कुमारी गुरुङ र निरु कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी महिला उम्मेदवारमध्ये आठौँ स्थानमा परिन् ।
पराजित भएपछि चितवन प्रेससँगको कुराकानीमा उनले भनिन्, ‘मतदान भनेको कन्यादान गरेजस्तै हो, कुनै चिन्ता छैन ।’ उनले भनिन्, ‘म कुनै गुट उपगुटमा लागिनँ, स्वतन्त्र एक्लै भएर लडेँ, हारेँ ।’