चितवन । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई वित्तीय साक्षरता एवंम् डिजिटल बैंकिङ कार्यक्रम आयोजना गरेको छ । रत्ननगरको हंस मनोरञ्जन केन्द्रमा खोलेसिमल र टाँडी शाखाले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुलाई मोबाइल बैंकिङसम्बन्धी साक्षरता प्रदान गरिएको हो ।
कार्यक्रममा प्रविधिको प्रयोग गरेर लिन सकिने बैंकिङ सेवाहरूको बारेमा जानकारी दिइएको थियो । उक्त कार्यक्रममा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट लिन सकिने दर्जनौँ सेवाको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सेवाग्राहीहरुको सल्लाह सुझाव पनि संकलन गरिएको थियो ।
बैंकमा भौतिकरूपमा उपस्थित नभई मोबाइलकै प्रयोगबाट फण्ड ट्रान्सफर, पानी, बिजुली, इन्टरनेट, टेलिफोन, स्कुल तथा कलेजको बिल भुक्तानी सेवाहरूको जानकारी दिइएको थियो । अत्याधुनिक भुक्तानी प्रणाली ‘क्यूआर’, डेबिट तथा क्रेडिट कार्ड घोटेर गर्न सकिने भुक्तानीका विषयमा पनि जानकारी गराइएको थियो।
अबको समय प्रविधिको भएको भन्दै बैंकिङ कारोबारका लागि बैंक जानैपर्ने वाध्यता नभएको बैंकले बताएको छ । बैंकले प्रविधि उपयोग बढाउनकै लागि विभिन्न ठाउँमा वित्तीय साक्षरता एवंम् डिजिटल बैंकिङ कार्यक्रम आयोजना गरिरहेको छ ।
कार्यक्रममा ग्लोबल बैंकका बजार प्रमुख शान्ता शिवाकोटी, बैंकका बागमती प्रदेश उपप्रमुख (नारायणगढ क्लस्टर) विदुर ज्ञवाली, ग्लोबल आइएमई बैंक खोलेसिमलका शाखा प्रमुख खेमनाथ ‘शर्मा’ पौडेल लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकको नेपाल भरि २८७ शाखा रहेको छ भने २५२ वटा एटिएम रहेका छन् ।