चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै एमाले चितवनले यस्तो माग गरेको हो ।
तीव्र संक्रामकको रुपमा देखा परेको महामारी नियन्त्रण हुन नसके भयाभह स्थिति आउनसक्ने भएकले देशमा स्वास्थ्य संकटकालको घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न र स्थानीय तहमा सोही बमोजिमको अतिरिक्त बजेटको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।
एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव शैलेस खनालद्वारा जारी विज्ञप्तिमा दोस्रो लहरको कोरोनाको चेनलाई ब्रेक गर्न सरकारले निषेधाज्ञा जारी गरेको स्मरण गर्दै यस महामारीबाट आमजनतालाई जोगाउन जारी निषेधाज्ञामा थप कडाइ गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।
यस्तै, दोस्रो लहरको कोरोना भाइसबाट संक्रमितलाई पर्याप्त मात्रामा अक्सिजन आवश्यक पर्ने देखिएकोले अक्सिजनको सहज उपलब्धतामा ध्यान दिन, सरकारी अस्पतालको क्षमता वृद्धि गरी संक्रमितको उपचारमा सहजता ल्याउन तथा निजी अस्पतालहरुले पनि संक्रमितको उपचारप्रति संवेदनशील हुन नेकपा (एमाले)ले अनुरोध गरेको छ ।
साथै, संकटको फाइदा उठाउँदै बजारमा स्वास्थ्यलगायतका दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव देखिएको हुँदा तुरुन्त अनुगमन गरी कालोबजारी नियन्त्रणमा ध्यान दिन पनि स्थानीय प्रशासनसँग माग गरेको छ ।