चितवन । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । चितवन महोत्सव मूल संयोजक राजु श्रेष्ठले विगतका चितवन महोत्सवभन्दा यसवर्षको चितवन महोत्सव बिल्कुल फरक रहेको बताए ।
आज भएको पत्रकार सम्मेलनमा उवासंघ चितवनका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘यस वर्षको चितवन महोत्सवमा पोल्ट्रीको डोम रहन्छ, स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव स्थल फराकिलो रहन्छ । प्रवेशद्वारमा निःशुल्क मास्कको व्यवस्था ग्िरएको छ ।’ उनका अनुसार ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता र सहीद परिवारलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।
विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो। हरेक दुईदुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो ।
उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् । यसअघि तीनवटै संस्था आयोजक हुने गर्दथे । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा डोमसहित ३५० कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे । श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष सङ्ख्या घटाइएको जानकारी दिए। महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन् ।
महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पु-याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए । श्रेष्ठका अनुसार महोत्सवमा पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ ।
महोत्सव अवलोकन गर्नलाई विद्यार्थीलाई रु २५ र अन्यलाई रु ५० मा टिकट पाइन्छ । १० दिनको महोत्सवमा २५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । चितवन महोत्सव देशकै १ नम्बरको महोत्सवभित्र पर्छ ।