काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ ।
पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो ।
‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको कार्यसमिति चयन हुनेछ,’ निर्वाचन समितिका सचिव केशव रिजालले न्युज कारखानासँग भने, ‘३३० वटा प्रदेशसभाबाट आउनेको संख्या करिब ९ हजार हुनेछ, यो पुरै नयाँ नेतृत्व हो ।’ उनकाअनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सह-सचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् भने नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत अर्थात ४ जना मनोनित गर्नेछन् ।
सर्लाहीसहित केही वडामा अधिवेशन हुन नसकेकाले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन भने नहुने सम्भावना देखिएको छ । ‘सर्लाहीलगायत केही जिल्लामा वडा र स्थानीय तहको अधिवेशन हुन नसकेकाले ३३० प्रदेशसभामा अधिवेशन हुन नसके पनि गराउने प्रयत्न जारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । उनकाअनुसार ३ मंसिरमा सम्पन्न हुन प्रदेशसभा अधिवेशन हुन नसकेमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ । न्युज कारखाना