काठमाडौं । नेपाल प्रहरीले ६५ हजार ३३५ रुपैयाँ नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रंगीन प्रिन्ट गरिरहेको अवस्थामा पाँच जनालाई बुधवार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरीद गर्दै हिंडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेब्रिकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैंची एक थान बरामद गरेको छ ।