चितवन। चितवन प्रहरीले प्रयोगमा नआएका अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ । उद्योग तथा होटलहरुले होल्ड गिरी राखेका ३ सय ७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिईएको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीका अनुसार, चितवन, विरगञ्ज र भैरहवाबाट सिलिण्डर नियन्त्रणमा लिएको हो । चितवन भित्रबाट १ सय १३ र बाहिरी जिल्लाबाट २ सय ५७ थान गरि ३७० थान सिलिण्डर नियन्त्रणमा लिएको गिरीले जानकारी दिए । नियन्त्रण मध्ये ८ वटा सिलिण्डरमा अक्सिजन रहेको छ । बाँकी सिलिण्डर खालि रहेकाले अक्सिजन उद्योगमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए ।
प्रहरीले चितवन भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ८८ वटा भरिएका र ८ वटा खाली गरि जम्मा ९६ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए । त्यस्तै २६ गते जिल्ला प्रहरी, वडा प्रहरी नारायणगढ र प्रहरी चौकी बसपार्कले १७ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए ।
वीरगञ्जबाट १७० र भैरहवाबाट ८७ थान सिलिण्डर नियन्त्रणमा लिएको डिएसपी गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार चितवनबाट अन्य जिल्लामा लगेर होल्ड भएका सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले फिर्ता ल्याएको हो ।उनले चितवन र अन्य जिल्लामा अधिकांश सिलिण्डर ग्रील उद्योग तथा कलकारखानामा स्टक राखिएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएर ल्याइएको बताए ।
नियन्त्रण गरिएका मध्ये ३१९ वटा सिलिण्डरहरु रामनगरस्थित स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगमा राखिएको छ । अन्य सिलिण्डर प्रहरी कार्यालयले राखेको छ । कोरोना भाइरसको महामारी बढ्दै जाँदा देशभर अक्सिजनको अभाव छ । चितवनमा ठूला अस्पतालका आफ्नै प्लन्ट र एउटा उद्योग रहेपनि अक्सिजन भर्ने सिलिण्डरको अभाव देखिँदै आएको थियो ।