चितवन । चितवनको खैरहनी नगरपालिका -८ स्थित चौबीसकोठी चोकमा कोरोना संक्रमणको महामारीमा सर्वसाधारणलाई निःशुल्क सेवा दिने उद्देश्यले शनिबारदेखि हेल्प डेक्स सुरु गरिएको छ ।
हेल्प डेक्समार्फत् आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्याइदिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिनेलगायतका सेवा सञ्चालन गरिएको हेल्प डेक्स कार्यक्रमका अभियन्ता रामेश्वर रिजालले जानकारी दिए ।
ग्रेट एफएम, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति चितवन र ग्रेट टिभीको आयोजनामा सञ्चालित हेल्प डेक्सका लागि खैरहनी नगरपालिका, इलाका प्रहरी कार्यालय खैरहनी, उद्योग वाणिज्य संघ खैरहनी, चितवन उद्योग संघ खैरहनी इकाइ समिति, खैरहनी चेम्बर अफ कमर्श, खैरहनी नगर स्काउट, पर्सा खैरहनी जेसिज र रोटरी क्लब अफ रत्ननगर र लायन्स क्लब अफ चितवन इस्टले सहयोग र समन्वय गरेका छन् ।
हेल्प डेक्सका लागि विभिन्न संघसंस्था, समाजसेवी, सामाजिक अभियन्ताहरुले स्वतःस्र्फूत सहयोग गरेका छन् । हेल्प डेक्सका लागि मेडिकल पार्टनर मेगा पोलिक्लिनिक प्रालि खैरहनी ८ ले चिकित्सा टोलीलगायत औषधि, मास्कलगायतको प्रबन्ध गरेको छ ।
चिकित्सा परामर्शका लागि डा. सुदीप थापा र मेगा पोलिक्लिनिकका विनोद नेपालले आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका छन् ।