चितवन । चितवन कांग्रेसको अधिवेशन पटकपटक सर्दै मंसिर १० गते पुगेको छ । चितवन जिल्ला सभापतिमा हालसम्म सात जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अधिवेशनको मिति नजिक आउँदै गर्दा यो संख्या अझ बढ्न सक्ने देखिन्छ । आजमात्र कांग्रेसका प्रभावशाली नेता राजेश्वर खनालले जिल्ला सभापति उम्मेदवारी घोषणा गरिसकेका छन् ।
हालका जिल्ला सचिव उत्तम जोशीले पनि जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सभापति जितनारायण श्रेष्ठले दोहो¥याएर कुनै पदमा उम्मेदवारी नदिने बताइसकेका छन् । उनी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएका छन् ।
वर्तमान कार्यसमितिका उपसभापति कैलाश कोइराला पनि जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् । यस्तै, अधिवक्ता एवम् पूर्वसांसद जगन्नाथ पौडेलले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् ।
यस्तै, वागमती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ पनि सभापतिको दावेदार हुन् ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरेले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विजयराज शर्मा भुसालले पनि जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी रहने दावी गरेका छन् ।