बुटवल। कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो ।
विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७६-७७ मा राहदानी बनाउने घटेका छन् ।
आर्थिक वर्ष २०७७-७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५-७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६-७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को कात्तिक मसान्तसम्म बिगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् । ‘कोरोना महामारीका कारण विदेश जानेको संख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्,’ उनले भने ।
आर्थिक वर्ष २०७६-७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन् । सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन् ।
कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात आर्थिक वर्ष २०७५-७६ मा भने राहदानी बनाउनेको संख्या उल्लेख्य थियो । यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सातहजार २९ वटा राहदानी जारी भएका छन् । उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ । न्युज कारखाना