चितवन । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण चितवनका शिक्षण संस्था ठप्प छन् ।
बन्दका कारण चितवनमा अध्ययनरत झन्डै २ लाख विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भए । बन्दको प्रभावले बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट मात्र चलेका छन् । मोटरसाइकल र अटोहरू कम चलिरेका छन् ।
चितवन प्रहरीले बन्दकर्ता १० जनालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।