चितवन । चितवनलाई विकासमा अगाडि बढाउने र देशको मध्यमभागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी २०२६ सालमा चितवनमा दियालो दरबार स्थापना भएको हो । दरबार लाई राजा महेन्द्रले स्थापना गरेका हुन । तर राजा महेन्द्रको यहि दरबारमा रहस्यमय ढंगबाट मृत्यु भयो ।
तत्कालिन सरकारले उनको मृत्युलाई स्वभाविक मानेपनि धेरैले यसलाई पश्चिमाहरुको षड्यन्त्र मान्दै आएका छन् । तत्कालिन समयमा राष्ट्रगुरु योगी नरहरी नाथले राजा महेन्द्रको मृत्यु योजनावद्ध ढंगबाट गराईएको बताएका थिए । उनको मृत्यु हुनु केहि घण्टा अगाडि केही विदेशी महिलाहरु दरबारमा आफुले देखेको उनले दाबी गरेको उनका निकटहरु बताउँछन् ।
राजा महेन्द्रले निकै भव्य र व्यवस्थित तवरले निर्माण गरेको यो दरबार कस्तो छ र त्यो अहिले सम्म आम नागरिकले देख्न पाएका छैनन्। त्यहाँ काम गर्ने कर्मचारी, सुसारे र नेपाली सेना बाहेक अरुका लागि यो दरबारमा प्रवेश गर्ने अनुमति छैन ।
यो शाहवंशीय राजाहरूको शितकालीन दरवार हो । यो दरवार नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ । यो दरवारमा सबैभन्दा धेरै बस्ने राजा महेन्द्र हुन् भने राजा वीरेन्द्र पनि माघेसंक्रान्तिको अवसर परेर बस्न आउने गरेको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन । राजा आउदा चितवन आसपासका स्थानिय बोलाएर विकासका बारेमा छलफल गर्ने गरेको दर्बारमा कार्यरत एक कर्मचारीले बताए । उनका अनुसार राजा ज्ञानेन्द्र पनि यहाँ एक दिनका लागि आएका थिए ।नेपालमा गणतन्त्र आएपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस महत्वपूर्ण र ऐतिहासिक दियालो दरबार हेर्ने अवसर चितवन र देश बासिले कहिले पाउँछन् थाहा छैन् ।
राजसंस्थाको मुख्य दरबार नारायणहिटी सर्वसाधारणका लागि पाटीसमेत खान मिल्ने गरी भोजन गृहका रुपमा विकास गरिरहँदा दियालो दरबार भने लुकाइनु दुःखद भएको चितवनका पर्यटन व्यवसायीहरु बताउँछन्।
सुरक्षार्थ नेपाली सेना र नेपाल ट्रष्टका सात जना कर्मचारीबाहेक अरु कोही यस दरवार परिसरमा प्रवेश समेत गर्न पाउँदैनन् । नेपाली सेनाको घेरामो जंगलभित्र एकान्तमा दियालो बंगला दरबार छ । सर्वसाधारण मात्र होइन, चितवनका सरकारी अधिकारी, जनप्रतिनिधि, यहाँका पर्यटन व्यवसायी उद्योगी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत दरबार हेर्ने अवसर पाएका छैनन्।
इतिहास मेट्ने राजनीतिक संस्कार भएकाले पुरानो इतिहास भएको शाह वंशको अस्तित्व मेटाउने खेलमा राज्य लागेकोले यो पनि ओझेलमा पारिएको उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष राजन गौतमले बताए ।
यसलाई संग्रहालयको रुपमा विकास गर्न सके यसले चितवनको पर्यटन विकासमा समेत धेरै योगदान पुग्ने दरवार आसपासमै हुर्केका व्यवसायी तथा बरिष्ठ समाजसेबी ,सामाजिक अगुवा उमाशंंकर अग्रवालले बताए ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले देवघाट जाने मुखमा दरबार रहेकाले आम सर्वसाधारणलाई पनि यहाँभित्र कस्तो छ होला भन्ने कौतुहलता जाग्ने गरेकाले यसलाई सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
दरबार नेपाली सेनाकै संरक्षणमा रहने गरी सर्वसाधारणका लागि खुल्ला गर्न सके यसको महत्व थप बढ्नका साथै संरक्षण पनि हुने यहाँका स्थानियहरुले विश्वास गरेका छन् । चितवनको पर्यटन विकासका लागी पनि यो दरबारलाई संग्राहालयका रुपमा विकास गर्न आवश्यक छ ।