काठमाडौँ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । शुक्रबार राति पौटार गौरिगाँउ स्थित नवराज पौडेलको ६ रोपनी जग्गा भाडामा लिई टहरा बनाइ सब्जी खेती गर्ने स्थानमा नै जुवातास खेलिरहेको अवस्थामा उनीहरू ५ लाख बढी नगदसहित पक्राउ परेका हुन् ।
३५ वर्षीय सुमन खडकाले पैसाको हार जित हुने गरी कौडा खेलाइ रहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त स्थानमा चेकजाँच गर्दा ८ जना भेला जम्मा भई कौडा हानिरहेको अबस्थामा फेला पारेको थियो ।
कौडा खेल्ने ८ जनालाई नियन्त्रणमा लिई शरीर तथा घरकोठा खानतलासी गर्दा कौडा खालबाट ५ लाख ११ हजार ५ सय सहित नगद रकम समेत बरामद गरेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।