चितवन। चार दिन सम्म मनाइने छठ पर्व आज (बिहिबार) उदाउँदो सूर्यलाई अर्घ दिएर बिहानै सम्पन्न भएको छ । आज बिहानै चितवनको नारायणी नदीको किनारमा परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
पहिलेको भन्दा अहिले नारायणी नदीको किनारमा छठ पूजा गर्ने भक्तजनको संख्यामा ३० प्रतिशतले बढेको नारद प्रसाद परिहस्तले बताए । छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेको परिहस्तले चितवन प्रेससँग बताए ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
छठमाई प्रतिको आस्था दिनदिनै बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन ।