भरतपुर । भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकका गौतमबहादुर केसी १७ वर्षकै उमेरमा क्रिकेटमा छलाङ मार्न सफल भएका छन् ।
उनले क्रिकेट सुरु गरेको पाँच वर्षमात्र भयो । दाइ गोविन्द केसीको प्रेरणाबाट क्रिकेट सुरु गरेका गौतमले पाँच वर्षकै उमेरमा क्रिकेटमा छलाङ मार्छु भन्ने सायदै सोचेका थिए, तर भइदियो यस्तै उनी आफैँले नसोचेको सफलता क्रिकेटमा पाएका छन् ।
२०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चितवन जिल्लाबाट खेलेका गौतम एकाएक चर्चामा आए । सो खेलमा उनले राइट हेन्ड फास्ट बलरको उच्च छवि बनाए । राइट हेन्ड फास्ट बलरको पर्यायजस्तै भए गौतम । विराटनगरको खेलपछि उनी जिल्लाभर राइट हेन्ड फास्ट बलरको रुपमा चर्चित बन्दै गए । क्रिकेटमा आशालाग्दो किरण बन्दै चम्किए गौतम ।
२०७४ सालको अण्डर १६ को काठमाडौँमा भएको क्रिकेट प्रतियोगितामा पहिलोचोटी कप्तानीको भूमिका पाए गौतमले । गौतम भन्छन्, ‘पहिलो पटक मलाई कप्तानीको भूमिका दिने कोच नवीन सिंह हुनुहुन्छ । उहाँ मेरो खेलबाट प्रभावित भएर मलाई कप्तानीको भूमिका दिनुभयो ।’ गौतमको कोच भने राजु खड्का हुन् ।
२०७४ सालमै गौतम एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनी छनौटमा परे । चितवन टाइगर्सले इपिएलको लागि ट्यालेन्ट हन्टबाट उनी छानिएका थिए । गौतम भन्छन्, ‘क्रिकेटमा मैले एकपछि अर्को सुनौलो अवसर पाउँदै गए, यसले मलाई हौसला, प्रेरणा दियो । अझै धेरै गर्न बाँकी छ ।’
इपिएलमा परेपछि उनले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेल, दिपेन्द्र सिंह ऐरी, अनिल मण्डललाई भेट्ने अवसर पाए । उनीहरुबाट गौतमले थप हौसला र प्रेरणा पाए । चितवन प्रेससँगको कुराकानीमा उनले भने, ‘चितवन जिल्लाका अर्का खेलाडी सुशील कँडेल खेलको क्रममा घाइते हुनुभयो । मलाई साह्रै नमजा लाग्यो ।’ उनका अनुसार सुशील कँडेलले नै गौतमलाई क्रिकेट खेल्नको लागि प्रेरित गरेका थिए ।
२०७५ को पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा पनि गौतम सहभागी भए । सो बेला नेपाली टिमका तत्कालीन क्याप्टेन पारस खड्कालाई भेट्ने अवसर गौतमले पाएका थिए । गौतमले प्रदेश ३ को प्रधानमन्त्री कपमा पनि पारस खड्को कप्तानीमा खेल्ने अवसर पाएका थिए ।
आठौँ राष्ट्रिय प्रतियोगिता र त्यसलगत्तै अण्डर १९ नेपाली टोलीबाट हैदरावाद जाने मौका उनले पाए । हैदरावादमा इन्डिया व्ल्युसँगको म्याच खेल्ने मौका र राहुल दब्रिड सँग भेट्ने मौका पाए । उनी भन्छन्, ‘यो भेट नै मेरो लागि अविस्मरणीय क्षण बनेको छ ।’
२०७७ कोरोनाको कहरपछि क्यानले आयोजना गरेको पिएम कपमा बागमती प्रदेशबाट उनले खेल्ने अवसर पाए । सो प्रतियोगितामा उनले ११ विकेट लिएर सवत्र्र प्रसंशा कमाएका थिए । सोही प्रतियोगितामा आर्मीजस्तो बलियो विभागीय टोलीसँग एक्लैले ५ विकेट लिएर बागमतीलाई जित दिलाएका थिए । रोहीत पौडेल र अनिल मण्डलजस्ता व्याट्सम्यानलाई उनले छिटै पेबिलियम फर्काउन सफल भएका गौतमले २०७८ सालको इपिएलमा भैरहवा ग्लाडियटरसँग म्याच खेलेका थिए । सोमपाल कामीसँग सो प्रतियोगिताभर गौतमले धेरै कुरा सिकेका थिए । विदेशी खेलाडीसँग अनुभव साट्ने अवसर पनि उनले पाएका थिए । चितवन टाइर्गसबाट खेलेका गौतमले जित हासिल गरेका थिए ।
गौतम यतिबेला चितवन अण्डर १९ क्रिकेट टिमका कप्तान बनेका छन् । उनी भन्छन्, ‘भविष्यमा नेपाली टिमबाट खेल्ने सपना देखेको छु, अष्टेलियाको बिगव्यास प्रिमियर लिग खेल्ने ठूलो रहर छ ।’