चितवन । माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।माडी-६, कल्याणपुर निवासी ६१ बर्षकी एक बृद्धा (महिला)को कोरोना संक्रमणको कारण मृत्यु भएको हो । माडीबासी भएपनि पछिल्लो समय पर्साको ठोरीमा रहेकी उनलाई स्वास्थ्यमा समस्या देखिएसंगै उपचारका लागि परिवारले ठोरीबाट सिधै बसन्तपुरस्थित बघौंडा अस्पतालमा ल्याएको थियो । अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बघौंडा अस्पतालले जनाएको हो ।
अस्पतालमा एन्टीजेन टेस्ट गर्दा मृतकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मृतकमा कुनै दीर्घरोग वा पुरानो स्वास्थ्य समस्या भने नरहेको परिवारले जनाएको छ । मृतकलाई सुरक्षाको उपाय अपनाई सीमित परिवार सदस्यहरुको उपस्थितिमा अन्त्येष्ठी गर्ने जनाइएको छ । यो संगै माडीमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ र महिलाको संख्या १ पुगेको छ ।