रत्ननगर । रत्ननगर नगरपालिकाले बेमौसमी बर्षाबाट पीडित बनेका धानका किसानहरुलाई ९० लाख रुपैयाँ राहत वितरण गरिसकेको छ ।
नगरपालिकाका प्रमुख नारायण वनले किसानको खेतमै पुगेर घोषणा गरेको १० दिनमै नगरपालिकाले किसानलाई राहत वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका प्रमुख वनले भने, ‘राहत वितरण गरेर ९० लाख सकियो, अझै किसान राहत पाएनौँ भनेर नगरपालिकामा आइरहेका छन् ।’
उनका अनुसार ९० लाख वितरण गर्दा पनि पुगेन, किसान आइरहेका छन् । नगरपालिकाले किसानलाई राहतको लागि रकम वडा कार्यालयमा पठाएको थियो । वडाले पीडित किसानलाई राहत वितरण गरेर लगभग सकिसकेको नगरपालिकाले जनाएको छ । राहत वितरणमै न सम्भबत रत्ननगर धान पीडित किसानलाई राहत उपलब्ध गराउने नेपालमै पहिलो पालिका हो । असोज २९,३० र ३१ गते तीन दिनसम्म परेको बेमौसमी बर्षाले किसानको भित्र्याउने बेला भएको धानमा क्षति गरेको थियो ।
सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको हो । रत्ननगरमा एउटै किसानको दुई कठ्ठा देखि साढे पाँच कठ्ठा सम्मको धानमा क्षति पुगेको छ । बेमौसमी बर्षाले १६ वटा वडामा २ हजार किसानको ९०० विघा धान खेती पूर्ण रुपमा क्षति तथ्यांक नगरपालिकासँग छ । प्रतिविघा १० हजारको दरले ९० लाख रुपैयाँ राहत स्वरुप वितरण भएको नगरपालिकाले जनाएको छ ।