तनहुँ। तनहुँमा आज राती १२ बजेदेखी निषेधाज्ञा लागु हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले बैशाख ३१ गते रातीसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।जिल्लाको ऋषिङ गाउँपालिकाको वडा नम्बर १ बाहेकका सबै वडामा र घिरिङ गाउँपालिकाका सबै वडामा बाहेक जिल्लाभर निषेधाज्ञा लागु हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । अति आवश्यक कार्य र सेवा बाहेकका सबै बन्द हुने गरी निषेधाज्ञा लागु हुने उनको भनाई छ ।
यस्तै, भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरुको निगरानी राख्न वडास्तर र टोलस्तरमा यस अघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने निर्णय भएको छ । जोखिमयुक्त स्थानबाट आएकालाई निगरानीमा राख्न दश दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरिएको उनले जानकारी दिए ।
केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण बढेकाले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले पनि तीन दिनभित्र निषेधाज्ञा गर्न संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।