चितवन । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चितवनको लागि काठमाडौँबाट हिँडिसकेका छन् ।
उनी सडकमार्गबाट आइरहेका र यतिबेला धादिङ आइपुगिसकेका नेकपा एमाले चितवनले जनाएको छ । अबको २ देखि ३ घन्टामा अध्यक्ष ओली चितवन आइपुग्ने एमाले चितवनको भनाइ छ । दासढुंगा आएपछि अध्यक्ष ओलीले स्व जननेता मदन भण्डारी र अर्का नेता जीवनाथ आश्रितको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
आउँदाआउँदै अध्यक्ष ओलीले १० औँ महाधिवेसनको लागि उद्घाटन हुने ठाउँ नारायणी नदी किनारको अवलोकन गर्नेछन् । अवलोकनपछि भरतपुर महानगरको अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीबाट हुने एमाले चितवनले जनाएको छ ।
अध्यक्ष ओली आज कात्तिक १५ र १६ गते चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन हुनेछन् । चितवनका एमाले नेता कार्यकताहरु स्वागत गर्न आतुर र उत्साहित भएका छन् ।
महानगर कमिटीको अधिवेशन भरतपुरको सिएमटि रिसोर्ट हाकिमचोकमा आयोजना गरिएको छ । उक्त सभालाई अध्यक्ष ओलीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने समय राखिएको भए पनि यसमा केही ढिला हुने देखिएको छ । अधिवेशन उद्घाटनपछि अध्यक्ष ओलीले एमालेको केन्द्रीय महाधिवेशनको बन्द सत्र हुने सौराहास्थित होटल सेभेन स्टारको अवलोकन गर्नेछन् । तर उक्त होटल छनौट हुने या नहुने भन्ने बिषयमा ओली आएपछि मात्रै निश्चित हुनेछ ।
कात्तिक १६ गते नारायणी नदीमा रहेको मिनीक्रुजको अवलोकन र शयर गर्ने कार्यक्रम राखिएको छ । तत् पश्चात ११ बजे माडीको अयोध्याधामको अवलोकन एवं भेटघाट कार्यक्रम तय भएको छ । दुई दिनसम्म अध्यक्ष ओली चितवन हुनेछन् ।