चितवन । नेपाली सेनाका हुद्दा गंगाधर ढकालमाथि लागेको हत्या सम्बन्धी आरोप मुद्दा फेरि चितवन अदालतमै फर्केको छ ।
यस मुद्दालाई जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको थियो ।
सर्वोच्च अदालतले जिल्ला अदालत चितवनमै मुद्दा फिर्ता गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो ।
नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो । हतियार चोरी र आफ्नो साथीको हत्या आरोप लागेका गंगाधरविरुद्ध सैनिक अदालतले २५ वर्ष कैद तोकिसकेको छ।