चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि कार्तिक १५ गते चितवन आउनेछन् । कुनै कारणवस कार्यतालिका हेरफेर नभए भोलि सोमबार बिहान १० बजे भरतपुर विमानस्थलमा अध्यक्ष ओली ओर्लनेछन् ।
सोमबार दिउँसो अध्यक्ष ओलीबाट नेकपा एमालेको भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन हुने नेकपा एमाले चितवनले जनाएको छ । उद्घाटन सत्रमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नेछन् ।
सोमबारै अध्यक्ष ओलीले मंसिर १० देखि १२ गतेसम्म हुने एमालेको दसौँ महाधिवेसनको उद्घाटन सत्र हुने ठाउँ नारायणी नदी किनार र बन्द सत्र हुने ठाउँ सौराहाको खुला चौरको अवलोकन गर्नेछन् । सोमबार राति अध्यक्ष ओली भरतपुरमै बस्ने कार्यतालिका बनेको छ । सोमबारै साँझ ओलीको कार्यकर्ता भेटघाट कार्यक्रम रहनेछ ।
अध्यक्ष ओली कार्तिक १६ गते माडीको अयोध्याधाम जानेछन् । नेकपा एमाले माडी नगर कमिटीले कार्तिक १६ गते माडी ९ अयोध्याधाममा अयोजना गरेको विशाल सभामा अध्यक्ष ओलीको सम्बोधन रहनेछ । सोहीक्रममा अयोध्यधामको निरीक्षण पनि अध्यक्ष ओलीबाट हुनेछ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार अध्यक्ष ओलीबाट भरतपुरदेखि माडीसम्मको कार्यक्रममा संबोधन हुनेछ ।
नेकपा एमाले माडी नगर कमिटीको कार्यक्रमको लागि विभिन्न उपसमिति बनाइसकेको छ । भरतपुर महानगरकमिटीले पनि अधिवेसनको तीव्र तयारी गरिरहेको छ । एमालेका भातृसंगठनहरु अध्यक्ष ओलीको स्वागतमा तयारी अवस्थामा रहेका छन् ।