दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समिति वडा नं ६ ले दीपावली, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले कांग्रेस सुदृढ नभएसम्म आम निर्वाचन जित्न नसकिने बताउनुभयो ।
कांग्रेस नेता कार्यकर्ताबीच भावनात्मक एकता नहुँदा गत निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको जनाउँदै पूर्वमन्त्री भण्डारीले भन्नुभयो, “मेरा तर्फबाट केही गल्ती भए स्वीकार गर्न म तयार छु, सबैले आ–आफ्नो कमजोरी स्वीकार गरौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।” पूर्वमन्त्री भण्डारीले नेतृत्वमा रहेका नेताको निर्णयका कारण पनि पार्टीले हार व्यहोर्नुपरेको टिप्पणी गर्नुभयो ।
पार्टीमा केही समस्या रहेकाले समस्याको समाधान नगरेसम्म पार्टी नबन्ने भण्डारीको जिकिर थियो । “कतिपय ठाउँमा एकाङ्की तरिकाले टिकट बाँडियो, केन्द्रीय तहमा रहेका हामीहरुसँग पनि सल्लाह भएन”, उहाँले भन्नुभयो, “कित्ताकाट नगरी एक भएर अगाडि बढौँ, आगामी चुनाव जितिन्छ ।”
पार्टीको १४औँ महाधिवेशनमा तनहुँका रहेका पुराना र युवापुस्ता दुवैलाई मिलाएर लैजानुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अहिले पनि केही नेताले कोठामा बसेर कित्ताकाट गर्ने काम गरिरहेका छन्, तेरो र मेरो मान्छे भनेर विभाजन गर्ने काम भइरहेको छ, त्यस्ता काम बन्द गरौँ ।” उहाँले आम निर्वाचनमा कांग्रेसलाई जिताउन बरु आफू उम्मेदवार नबन्ने घोषणा गर्नुभयो ।
आमन्त्रित केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य धु्रव वाग्लेले कांग्रेसभित्रको वातावरण दूषित हुँदै गएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसभित्र नीतिभन्दा नेता हाबी हुने प्रवृत्ति मौलाएको जनाउँदै उहाँले भन्नुभयो, “पार्टीमा नीति ठूलो हो, विचार ठूलो हो नेता होइन, सबैलाई मिलाएर लैजान सक्ने पार्टी नेतृत्व आवश्यक छ ।”
नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले निर्वाचनको परिणामलाई बिर्सदै सद्भावको यात्रा बढाउन सके कांग्रेस एक ढिक्का हुनसक्ने बताउनुभयो । न्यौपानेले विगतको कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कांग्रेस तनहुँ क्षेत्र नं २ का उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले कांग्रेसभित्रका मतान्तर बिर्सिएर अगाडि नबढे आगामी स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पराजय हुने बताउनुभयो । रासस