चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माडीको बाँदरझुला पुगेर नागरिकता वितरण गरेका छन् । चितवनको माडी नगरपालिका ९ स्थित बॉदरझुलाका भूमिहीन सुकुमबासीलाई प्रचण्डले नागरिकता वितरण गरेका हुन् । नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बॉदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए ।
माडी नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयुक्त आयोजनामा नागरिकता वितरण गरिएको हो । ७३ वर्षका हरिमायॉ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्घाटन गरेका थिए । उनीसहित पाँच जना प्रजालाई प्रचण्डले नागरिकता वितरण गरेका थिए ।
हाल बाँदरझुलाको नाम परिवर्तन गरी हनुमान झुला भनिएको छ । त्यहाँ रहेका अधिकांशको नागरिकता छैन भने यहॉका बसिन्दाहरूसँग जग्गा धनी प्रमाण पुर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सिमावर्ती यस बस्तीमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र बस्ती विकासको काम हुन सकेको छैन । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादिका नेता नारदमणी पौडेल, लगायतकाले बॉदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए।