चितवन । नेकपा एमालेले चितवनका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्न अझै सकेको छैन । कालिका नगरपालिका र माडी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व छान्न एमालेले सकेको छैन । राप्ती, कालिका र माडीमा नेतृत्व छनौट गर्न जिल्लाका शीर्ष नेताहरु लागिरहेका छन् । अन्य तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्न एमाले सफल भएको छ ।
रत्ननगर, इच्छाकामना र खैरहनीमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । माडी, कालिका र राप्ती नगरपालिकामा सहमतीमा नेतृत्व चयन गर्न नेताहरु लागिरहेका छन् । आज बेलुकासम्म सर्वसम्मत नेतृत्व चयन हुने एमालेका जिल्ला तहका नेताहरुले बताइरहेका छन् ।
मंगलबार नगर अधिवेशन भए पनि रत्ननगर र खैरहनीमा आकांक्षी पदाधिकारीबीच बुधबारमात्रै सहमति जुटेको थियो ।
अध्यक्षहरुमा रत्ननगर नगर कमिटीमा ईश्वरीप्रसाद अर्याल, खैरहनी नगर कमिटीमा पूर्णप्रसाद डल्लाकोटी, इच्छाकामना गाउँ कमिटीमा कृष्णप्रसाद सिलवाल चयन भएका छन् । माडीमा अध्यक्षमै ४ जना आकांक्षी देखिएपछि त्यहाँको विवाद समाधान हुने सकेको छैन । श्रीप्रसाद दवाडी, रेशमलाल आचार्य, नारायण अधिकारी र रामेश्वर चौधरी अध्यक्षको आकांक्षी छन् । जिल्लाका शीर्ष नेताहरु पालिकामा सर्वसम्मत नेतृत्व चयन गराउन लागिपरेका छन् । तर पनि अझै सहमति हुन सकेको छैन । माडीको अधिवेसन सकिनँ अझै केही समय लाग्ने देखिएको छ ।
कालिका नगरपालिकामा पनि अध्यक्ष बाहेकका सबै पदमा सहमति जुटेको छ । अध्यक्षका दावेदार केशव लामा र भीष्मप्रसाद खनालबीच सहमति जुटेको छैन । यहाँ पनि सर्वसम्मत नेतृत्व चयनको लागि नेताहरु लागिरहेका छन् । राप्तीमा पनि अध्यक्षका दावेदार पूर्णबहादुर थापा र श्यामसुन्दर उप्रेतीबीच समझदारी बनिसकेको छैन । यहाँ पनि नेताहरु सहमति गर्न लागिरहेका छन् । भरतपुर महानगरको अधिवेसन कार्तिक १५ गते तोकिएको छ ।