चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मर्निङ वाकमै माडी नगरपालिकाको धार्मिकस्थल सोमेश्वरगढी पुगेका छन् । प्रचण्ड केही दिनदेखि आफ्नो गृहजिल्ला चितवनमा रहेका छन् । मर्निङ वाकमै माडीको प्रमुख धार्मिक पर्यटकीय स्थल सोमेश्वरगढी अवलोकन गरेका छन् ।
बुधबार भरतपुरबाट माडी गएका प्रचण्ड आज बिहानै मोटर बाटोबाट करिब एक किमि पैदल हिँड्दै प्रचण्ड सोमेश्वर पुगेका हुन् । अवलोकनको क्रममा अध्यक्ष प्रचण्डले गढीमा कुँदिएका ५३ वटा कलात्मक विशालमूर्तिहरुको अवलोकन पनि गरे । सोमेश्वरगढी भ्रमण वर्षका लागि छनौट भएका एक सय गन्तव्य मध्येको एक हो ।
प्रचण्डको साथमा माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकिय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली सोमेश्वरगढी पुगेका थियो ।