काठमाडौं । कराते खेलाडी सुमन तिमल्सिनाले आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी दुई खेल संस्थालाई खेल पोशाक सहयोग स्वरुप उपलब्ध गराएका छन् । सुमनले करिब ६० हजार मूल्य बराबरको कराते र तेक्वान्दो पोशाक संस्थालाई वितरण गरेका हुन् ।
सुमनले नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक (तेक्वान्दो पोशाक) व्यक्तिगत रूपमा उपलब्ध गराए ।
सुमनले गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र तथा कोटेश्वर तेक्वान्दो डोजाङका सिनियर प्रशिक्षक विशाल रायमाझीलाई एक कार्यक्रमबीच पोशाक हस्तान्तरण गरेका हुन् ।
उनले आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले पोशाक उपलब्ध गराएको बताए । महासचिव मित्र र सिनियर प्रशिक्षक रायमाझीले सहयोगले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए । दुवैले लक्षित वर्गलाई पोशाक उपलब्ध गराउने प्रतिबद्धता जनाए । न्युज कारखाना