चितवन । चितवनका तीनवटा अस्पतालमा १७२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचाररत संक्रमितमध्ये भेन्टिलेटरमा ९ जना छन्। यस्तै आइसियूमा ५४ जना र एचडियूमा ४९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए।
अस्पतालमा उपचाररत संक्रमितमध्ये भरतपुर अस्पतालमा ९० जना, चितवन मेडिकल कलेजमा ५१ जना र पुरानो मेडिकल कलेजमा ३१ जनाको उपचार चलिरहेको उनले बताए। तीमध्ये भरतपुर अस्पतालको भेन्टिलेटरमा चार जना, आइसियूमा सात जना र एचडियूमा २५ जनाको उपचार भइरहेका छन्। बाँकी ५४ जना जनरल वार्डमा उपचाररत छन्।
चितवन मेडिकल कलेजको भेन्टलेटरमा पनि पाँच जनाको उपचार चलिरहेको छ भने आइसियूमा ३७ जना र एचडियूमा २१ जना छन्। बाँकी १४ जनाको भने जनरल वार्डमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस्तै पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा संक्रमित नभए पनि आइसियूमा १० जना र एचडियूमा २१ जनाको उपचार भइरहेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए।
कार्यालयका अनुसार शनिबार मात्रै चितवनमा १६० जना नयाँ संक्रमित थपिएका छन्। योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९८८ पुगेको छ।