चितवन । नेपाल पत्रकार महासंघ चितवनले दिवंगत हुने महासंघ चितवनका सदस्यका परिवारलाई आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
आज बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ सदस्यको निधन भएमा परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले महासंघ सदस्यको दिवंगत भएमा ५० हजार रुपैयाँ सहयोग गरिने बताए ।
“पत्रकारको दु:खमा महासंघले सक्दो सहयोग गर्ने निति लिएको छ”, उनले भने, “पत्रकारको उपचार, विपद्मा समेत सहायता गर्न कल्याणकारी कोष वृद्धि गरिनेछ ।” उनका अनुसार कार्यविधि बनाएर पत्रकारको उपचार, विपद्मा न्यूनतम आर्थिक सहयोग वितरण गर्न कोष रकम बढाउने छ । जिल्ला शाखाले पहिलोपटक दिंवगत हुने पत्रकारलाइ सहयोग गर्ने निर्णय गरेको हो ।
चितवन शाखाले महासंघ सदस्यहरुको रु ७ लाख बराबरको दुर्घटना विमा समेत गरिसकेको छ । विमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता गरिने उनले बताए । यहि असोज ३१ गते दिवंगत भएका ४७ वर्षिय पत्रकार द्वारिका नेपालको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरिने महासंघले जनाएको छ ।
दसैंको टीका लगाउन रौतहटको चन्द्रनिगाहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस बनेपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो । उनको मष्तिष्कघातका कारण निधन भएको थियो । चितवन शाखाले द्वारिका नेपालको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।