चितवन । नेकपा एमालेको नेताहरुले पार्टीको दसौँ महाधिवेसन चितवनमै गर्नुको कारणहरुको खुलासा गरेका छन् । नेकपा एमाले चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेताहरुले चितवनमै महाधिवेसन गर्नुमा अन्य कारण नरहेको दावी गर्दै ६ वटा कारणले चितवन महाधिवेसनको रोजाइमा परेको बताए ।
नेकपा एमालेका नेता तथा वागमती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले देशकै मध्येभागमा रहेको हुनाले चितवन महाधिवेसनको रोजाइमा परेको बताए । उनले भने, ‘प्रमुख कारण चितवन मध्येभागमा रहेको र यातायातदेखि सबै सुविधाका कारण महाधिवेसनको लागि चितवन छनौट गरेका हौँ ।’
अर्को कारण आगामी निर्वाचनमा बहुमत ल्याउने उद्घोष पनि चितवनबाट गर्ने इच्छाका साथ महाधिवेसन चितवनमा राखिएको नेता पोख्रेलले बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘तेस्रो कारण चितवनको समग्र विकासको लागि एमालेले प्राथमिकतामा राखेको हुनाले पनि चितवनमा महाधिवेसन आयोजना गरिएको हो ।’
यसबाहेक चितवन राजनैतिक, सामाजिक, आर्थिक हरेक पक्षबाट अग्रभागमा रहेको हुनाले यस जिल्लामा एमालेको महाधिवेसन गर्न लागिएको अध्यक्ष पोख्रेलको भनाइ छ । पत्रकार सम्मेलनमा उनले भने, ‘चितवन छनौट गर्नुमा विभिन्न मिडियामा आएका तर्कविर्तक अर्थहीन छन्, सत्य होइनन् ।’ उनले चुस्त सुरक्षा निकाय, सक्रिय प्रशासन र चितवनवासीको मागको कारणले पनि चितवनमा महाधिवेसन आयोजना गरिएको बताए । नेता पोख्रेलले पार्टी विभाजन, विश्वासघात पक्षलाई चितवनबाटै चिर्ने उद्घोष गर्न पनि यस जिल्लामा महाधिवेसन गर्न लागिएको बताए ।
यसअघि काठमाडौँमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि चितवन महाधिवेसनको लागि रोजाइमा परेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।
महाधिवेशन मूल व्यवस्थापन समिति २१ सदस्यीय बनाइएको छ। महाधिवेशन १०–१२ मंसिरमा हुँदै छ ।
नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई दिएको छ । बादलको नेतृत्वमा एमालेले २१ सदस्यीय १०औं महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, विष्णु रिमाल, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल सदस्य छन् ।