हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् ।
यसअघि २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् ।
आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मख्यमन्त्री शाक्यले विश्वास मत लिने छिन् ।
मुख्यमन्त्री शाक्य अल्पमतमा
सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ । कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो ।
हाल बागमती प्रदेशसभामा १०९ जना सांसद छन् । बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन् । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन ।
बिपक्षी गठबन्धनले बागमती प्रदेशमा शाक्य नेतृत्वको सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन् । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धले मुख्यमन्त्री बनाउने सहमती भइसकेको बताईएको छ ।