काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११, १२ गते हुँदैछ । महाधिवेशनको स्थान कहाँ भन्ने अझै तय भइसकेको छैन ।
एमालेले बिहीबार महाधिवेशनको स्थानको तय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा महाधिवेशनको स्थान बिहीबार तय हुने जानकारी दिए । ओलीले विधान महाधिवेशनमा राष्ट्रिय महाधिवेशन अन्यथा नभए बुटवलमा हुने बताएका थिए ।
बिहीबारको कार्यक्रममा उनले आफूले त्यतिबेला बुटवलबाट माग आइसकेको जानकारी मात्रै गराएको बताए ।
उनले बुटवलमा महाधिवेशन नहुने संकेत पनि गरेका छन् ।
एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन चितवनमा हुने सम्भावना छ । तर, भोलि बस्ने स्थायी कमिटीले स्थानबारे टुंगो लगाउने उनले बताए । “महाधिवेशन चितवनमा हुन सक्ने सम्भावना छ । भोलिको बैठकले स्थान टुंग्याउँछ,” उनले भने ।
त्यस्तै एमालेले वडा अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन ९ गते गर्दैछ । लगातार आएको वर्षाका कारण बाढीले क्षति पुगेर हुन अधिवेशन हुन नसक्ने ठाउँका विषयमा भने छलफल हुने उनले बताए ।