हेटौडा । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको मिति सार्न आग्रह गरेको छ । बुधबार एमालेले प्रदेशसभाको बैठक सार्न बागमती प्रदेशका सभामुखलाई पत्र नै लेखेर आग्रह गरेको हो ।
एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठक सार्न आग्रह गरेको छ । बिहीबारका लागि बोलाइएको बैठकलाई कात्तिक ११ गतेसम्म सार्न एमालेको आग्रह छ ।
एमाले विभाजनसँगै बहुमत गुमाएकी मुख्यमन्त्री शाक्यले गत असोज २४ मा प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल गर्न प्रदेश सभा सचिवालयले कात्तिक ४ (बिहीबार)को लागि बैठक बोलाएको थियो ।
तर, पार्टीको वडा र पालिका अधिवेशनलाई देखाउँदै एमालेले समय सार्न माग गरेको हो । एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ गतेदेखि हुँदैछ ।
विश्वासको मत पाउने अवस्था छैन्
१०९ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन चाहिन्छ । तर, पार्टी विभाजनसँगै एमालेको पक्षमा मात्रै ४३ सांसद छन् ।
केन्द्रदेखी प्रदेशसम्म सहकार्य गरिरहेको विपक्षी गठबन्धनसँग (नेकपा माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, नेकपा (एकीकृत समाजवादी) १३ र जनता समाजवादी पार्टी १) प्रष्ट बहुमत सांसद छन् । गठबन्धनका मुख्य तीन पार्टी मिल्दा पनि बहुमत हुन्छ ।
केन्द्रदेखि प्रदेशमा पनि सहकार्य गरिरहेको गठबन्धनले बागमतीमा पनि सहमतिमै मुख्यमन्त्री चयन गर्ने सहमति गरिसकेको छ । जसअनुसार शाक्यको पक्षमा बहुमत नपुग्ने स्पष्ट छ ।
यस्ताे छ एमालेकाे पत्र