चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सरकारले पूर्वाग्रही ढंगले हटाए पनि भरतपुरलाई स्मार्टसिटी बनाइछाड्ने प्रतिबद्धता जनाएकी छन्। मेयर दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रतिबद्धता जनाएकी हुन्।
उनले आज भन्दा ३ वर्षअघि देखिनै देशका १२ वटा सिटीहरूलाई स्मार्ट सिटी बनाउने सोचका साथ देशका ६ महानगर मध्य भरतपुर महानगरपालिका एउटा र अरू बिभिन्न पालिकासहित १२ वटा स्मार्ट सिटीको छनोटमा परेर भरतपुरको स्मार्ट सिटी मास्टर प्लान शहरी बिकास मन्त्रालयले बनाइसकेको बताएकी छन्।
मेयर दाहालले एउटै मात्र महानगरलाई पनि पूर्वाग्रही दृष्टिकोण राखेर हटाइएको बताइन्। पुरानो ४ वटा (भरतपुर,पालुङगटार,निजगढ, टिकापुर) हटाएर अहिले भर्खर नयाँ ४ (भक्तपुरको १ एंव झापाको १ र रौतहटका २) थपेर गरिएको निर्णयप्रति गम्भिर असहमति रहेको जनाइन्।
मेयर दाहालले लेखेकी छन्, ‘यो कस्तो पूर्वाग्रही हो ? के भरतपुर केन्द्र सरकारकै एउटा अंग हैन? किन बिभेद? के कारणले यसो हुन गयो ? स्मार्ट सिटीको ठूलो सम्भावना बोकेको भरतपुरलाई किन अबसरबाट बंचित गरियो? यसको उचित जवाफ हामीलाई चाहियो। महानगरलाई स्मार्ट बनाउन हामी पूरा तागतका साथ लाग्दै गर्दा केन्द्रको यस्ता खाले बिभेदकारी र स्वेछाचारी निती र ब्यबहारले राम्रो पक्कै हुनेछैन।