काठमाडौँ । नेपाल पत्रकार महासंघले आइतबार पक्राउ परेका दुई जना पत्रकारलाई रिहा गर्न माग गरेको छ । उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको थियो । सो घटनाप्रति नेपाल पत्रकार महासंघले अफ्नाे गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।
पाटन उच्च अदालतले गत शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि दिएको आदेशको उल्लंघन गर्दै पत्रकार पक्राउ गर्नु संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
“समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन् । त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ,” महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।