काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुरूप काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनपछि आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले उत्साह र ईमान्दारिताका साथ काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार काम गर्न निर्देशन दिनुभएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
यस्तै मन्त्री कार्कीले सो अवसरमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट मन्त्री बन्नुभएको र प्रधान न्यायाधीशसँग जोडेर आएका समाचारहरूमा सत्यता नरहेको समेत स्पष्ट पार्नुभयो ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई पारदर्शी र मितव्ययी बनाउने मापदण्ड २०७८ स्वीकृत गरेको छ ।
यस्तै बैठकले यही भदौ २५ गते गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने तथा सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।