काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।
शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो ।
हैदराबादका लागि जेसन रोयले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै केन विलियमसनले ३१ रन बनाउँदा जेसन होल्डरले १६ रनको योगदान गरे ।
बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै डान क्रिचियनले २ विकेट लिँदा गोर्गे गार्टाेन र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै बैंगलोर प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।
आजको खेलमा जित निकाल्न सकेमा बैंगलोरले १८ अंक जोड्ने छ । बैंगलोरले यसअघि नै प्रतियोगिताको प्लेअफमा स्थान बनाइ सकेको छ ।
यता हैदराबाद आफ्नो जित निकाल्ने योजनामा रहेको छ । यसअघि नै प्लेअफबाट बाहिरि सकेको हैदराबाद तालिकाको पुछरमा छ ।
लिगमा १२ खेल खेलेको बैंगलोर १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । हैदराबाद १२ खेलबाट ४ अंक जोडेर तालिकाको पुछारमा छ ।