काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेभित्र कुनै विचार नभएको टिप्पणी गरेका छन् ।माओवादी केन्द्रको पेरिसडाँडा स्थित कार्यालयमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले विचारले नचलेको पार्टी भएको बताए ।
एमालेमा विचार बारेमा बहस नहुने गरेको आरोप लगाउँदै उनले भने, ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन्, त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन्, जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओलीलाई बनाउन खोजिएको छ ।’
एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आश गरेपनि धोका पाएको प्रचण्डले बताए । उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने ग¥याछन् । त्यहीँ स्वार्थका लागि मिल्छन् ।’
नेकपा माओवादी केन्द्र पनि अरु पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने अध्यक्ष प्रचण्डले बताए । मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको आलोचना भइरहेका बेला अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद छिटै विस्तार हुने बताए ।
‘सके आजै क्याविनेट बिस्तार हुन्छ । क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउँने, नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउँने भन्नेछ’ अध्यक्ष प्रचण्डले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म पनि मन्त्रिपरिषद विस्तार नगर्दा आलोचना भईरहेको छ । तर पाँच दलीय गठबन्धनभित्र मन्त्रालयको भागबण्डा नमिलेकै कारण ढिलाई भईरहेको छ ।