काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो ।
यसअघि निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो । राति परेको वर्षाको कारण मैदानको आउटफिल्ड ओसिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो ।
विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए । अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए । यस्तै रायन पाठनले ३० रन बनाएका थिए । ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए ।
यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए ।
काठमाडौं प्रतियोगिताको दोस्रो जितको खोजिमा छ । उसले २ खेलबाट १ जित र १ हार व्यहोर्दै २ अंक जोडेको हो । यता, विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ४ खेल खेलको विराटनगरको चारै खेलमा हार व्यहाेर्दै अंक तालिकाको पुछारमा छ ।