काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा नयाँ एकता र रुपान्तरण खोज्ने बेला आएको बताएका छन् । शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट एकताका लागि नेताहरूसँग छलफल गरिरहेको जानकारी गराए ।
‘हाम्रो आन्दोलन बिग्रेको छ । हामी सबै ठूलो भइयो । किरण, बाबुराम, विलप्व र बादल ठूला भए । को कति पानीमा ओभानो रहेछ भन्ने देखियो । अब आ-आफ्नो ठाउँमा बसेर समीक्षा गरौं,’ उनले भने । पहिला भूमिगतमा हुँदा कसैले नाडी छाम्न नपाएको र फुटाउन पनि नसकेको भन्दै शान्ति प्रक्रियामा आएपछि देशीविदेशी प्रतिक्रियावादीले नेतापिच्छे उचालेर फुट ल्याएको उनको भनाइ थियो ।
‘बाहिर आएपछि सबैलाई प्रतिक्रियावादीको गुटले समातेर कुरा लाइदिए । प्रचण्डले तपाइँलाई हेपेको छ, घेरा हालेको छ भनेर साँच्चै सिध्याउन खोजेको जस्तो बनाए । यस्तो भन्ने सामन्त, दलाल, नोकर, विदेशीहरू देखे । सत्य यही हो । प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनमा फुट ल्याए । हामी प्रभावित नभएको भए हुन्थ्यो । कुनै न कुनै रूपमा प्रभावित भइयो । समीक्षा गर्नुपर्छ । फटाहाहरूले कसरी फुटाउनेर रहेछन् ज्ञान प्राप्त भयो,’ उनले भने ।
माओवादी जनयुद्ध विदुपीकरण, भ्रष्टिकरण, विखण्ड र विर्सजन गर्ने षडयन्त्र भइरहेको भन्दै दाहालले त्यसविरुद्ध एकजुट हुनु बुद्धिमानी हुने बताए । ‘नयाँ एकता र रुपान्तरण खोज्ने बेलामा पुगेका छौं । एकताको खोजी गरौं । आत्मसमीक्षाबाट सुरु गरौं । त्यसबाट नयाँ एकता, नयाँ आधार पाउन सक्छौं,’ उनले भने ।
यसका लागि आफूले सबै कम्युनिस्ट नेतासँग सहकार्य गर्न संवाद अघि बढाएको उनको भनाइ छ । ‘हामी सहकार्य गर्नेमा छौं । किरण, विप्लव, बाबुराम, उपेन्द्रसँग नि कुरा भइरहेको छ । मोहनविक्रम जीसँग पनि बढो सौहार्दपूर्ण कुराकानी भइरहेको छ । यसलाई विगार्ने काम नगरौं । यसलाई उचाईमा लैजाने काम गरौं,’ उनले भने ।